माधवपुर स्कुल स्क्रिप्ट फाईनल
चितवन ... प्रसस्त खेतीपाती हुने मध्यनेपालको समथर भूभाग । वि.स २००० को दशकदेखि बाक्लो मात्रामा देशका विभिन्न जिल्लाहरु बाट यहाँ बसाई सरेर आउने क्रम सुरु भयो । यसरी नै बसाई सरेर तत्कालिन पिठुवा गाउँ पंचायतको वडा नं. ७,८,९ हाल रत्ननगर १५ मा आएका व्यक्तिहरुले वि.स. २०१८ मा आफ्नो छोराछोरी पढाउन एउटा छाप्रो हालेर पाठशालाको स्थापना गरे । विशेष गरि गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यिनै समुदायको अगुवाईमा पाठशाला स्थापना भएको हो । पाठशाला स्थापनाको लागी हाल विद्यालय रहेकै ठाउँमा रहेको ३ कठ्ठा ५ धुर खाली जग्गा प्रयोग गरिएको थियो । २०२४ सालमा कक्षा संचालनको अनुमती पाएपछि विद्यालयले कक्षा ३ सम्मको अध्यापन सुरु गरेको हो ।
विद्यालय स्थापनाको लागी विभिन्न समयमा गोपिचन्द्र गुरुङले ५ कठ्ठा, रणध्वज गुरुङ, जुल्फा सिंह मगर, जगन बहादुर गुरुङ र गन्जासिंह गुरुंगले १-१ कठ्ठा जमिन प्रदान गर्नुभएको थियो । त्यसैगरी यमबहादुर गुरुङले १० धुर जग्गा प्रदान गर्नुभएको थियो । हाल विद्यालय १२ कठ्ठा ५ धुरमा फैलिएको छ ।
तत्कालिन पंचायत सरकारले विद्यालय अनुमती संगै दरबन्दीको पनि व्यवस्था गरिदिएपछि विद्यालय कक्षा ५ सम्म संचालन भयो । तर निजि श्रोतका शिक्षकलाई तलब खुवाउन निकै समस्या भयो ! विद्यालय संचालनको सुरुवाती दिनहरुमा शिक्षकलाई तलब खुवाउन नसके पछी विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष लाल बहादुर राना मगरले आफ्नो गोठको पाडो नै फुकाएर पठाएको जानकारहरु बताउँछन् !
२०५५/५६ सालमा पिठुवा गाविसले वजेटको व्यवस्था गरिदिएपछि विद्यालयले जस्ताको छानो हालेर भवन बनायो र निमावि संचालनको लागी तयारी थालियो । त्यतिबेला पिठुवाको वडा नं. ७-८ र ९ मा निमावि स्तरको विद्यालय नै थिएन । देउसी भैलो र चन्दा संकलन गरेर निमाविको अनुमतीको लागी राख्नुपर्ने धरौटी जुटाएपछी २०५६ सालबाट निमावि सुरु भयो । प्राथमिक तहमात्र रहंदा ७०/७५ जना विद्यार्थी मात्र रहेको विद्यालयमा निमावी संचालन पछी २५० सम्म विद्यार्थी पुगे । त्यतिबेला निमाबी संचालन गर्दैगर्दाको दु:ख र परिश्रमलाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर थापा मगर यसरी सम्झनुहुन्छ ।
२०५१ सालमा विद्यालयको भौतिक पूर्वाधार बिकासको लागी वाचन शिरोमणी स्व. पण्डित नारायण प्रसाद पोखरेलको मुखारविन्दबाट धनधान्यांचल महायंज्ञ संचालन गरिएको थियो । पंचायती शासन कालमा स्थापना भई बहुदल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको राजनैतिक छालहरुमा तैरदै र पौडदै आईरहेको यस विद्यालयले राजनीतिज्ञ, प्रशासक, डाक्टर देखि विभिन्न उच्चतहमा पुगेका नागरिकहरु जन्माईसकेको छ । विद्यालय स्थापनाको समयदेखि अहिलेसम्मको ईतिहास हेर्दा विद्यालयले विभिन्न उतारचढावहरु भोग्दै आएको छ । पछिल्लो केहि दशकहरु देखि सुरु भएको शिक्षाको व्यापारीकरण संगै खुलेका संस्थागत विद्यालयहरुले विद्यार्थी तानीरहंदा यो विद्यालयलाई विद्यार्थीको पलायन रोक्न निकै कठिन पर्यो । देश संक्रमणकालीन अवस्थामा गुज्रिरहेका बेला जर्जर बनेका धेरै सरकारी शैक्षिक संस्थाहरु मध्ये यो विद्यालय पनि एक हो ।
तर अहिले समय फेरिएको छ । पात झरेर खिन्ग्रिंग बनेका रुखहरुमा पालुवा पलाउन थालेको छ । देशका विभिन्न सामुदायिक विद्यालयहरु अब्बल बनिरहेका बेला यो विद्यालय पनि आफ्नो छुट्टै पहिचान बनाउने दौडमा छ । यो दौडमा समुदाय अनि विद्यालय परिवार हातेमालो गरेर काम गरिरहेका छन् ।
सामुदायिक विद्यालयमा पनि संस्थागत विद्यालयमा जस्तै अंग्रेजी माध्यमको पढाई सुरु गरेमात्र समुदायले पत्याउने देखिएपछी २०६८ सालमा यस विद्यालयमा पनि अंग्रेजी माध्यमको पढाई सुरु गरिएको हो । दक्ष शिक्षकहरुको व्यवस्था गरेर, विद्यालयको आन्तरिक व्यवस्थापन चुस्तदुरुस्त बनाई सुरु गरिएको अंगेजी माध्यमको पढाई ले विस्तारै समुदायको मन जित्न थालेको छ र विद्यार्थीको संख्या बढ्न थालेको छ । संस्थागत विद्यालयमा चर्को शुल्क तिरेर पढाउनु र यस विद्यालयमा नि:शुल्क पढाउनुमा खासै अन्तर नरहेपछि अभिभावकहरुको आकर्षण बढ्न थालेको हो ।
विद्यालयमा हाल १४ जना शिक्षकशिक्षिका र ५ कर्मचारी गरि १९ जना कार्यरत छन् । १४ जना शिक्षकशिक्षिका मध्य ११ जना माध्यमिक तहमा अध्यापन गराउने योग्यताका छन् । विद्यार्थीहरुलाई विद्यालय आउनजान समस्या नहोस भनेर विद्यालय बसको व्यवस्था गरिएको छ । भौतिक संरचना र सुविधाको हिसाबले पनि यस विद्यालय अब्बल बन्दै गएको छ । विद्यालयमा भर्खरै संचालनमा आएका सुविधासम्पन्न कम्प्युटर प्रयोगशाला र पुस्तकालयले अध्ययन अध्यापन मा सहजता थपिएको छ । त्यसैगरी प्लेग्रुपका बालबालिकाहरुको सुविधाको आकर्षक र आरामदायी कक्षाकोठाको समेत व्यवस्था गरिएको छ । 'खेल्दै र सिक्दै' अवधारणाका साथ सुरुगरिएको बालाबिकासका कक्षाहरुमा बालबालिकाहरु रमाइरहेका भेटिन्छन् । विद्यालयमा दक्ष जनशक्तीको व्यवस्था भएपछी हाल विद्यालयको शैक्षिक गुणस्तरमा वृद्दि हुँदैगईरहेको छ ।
अध्यापन संगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिने यस विद्यालयले वार्षिक क्यालेन्डर बनाएर नै त्यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको छ । विद्यार्थीलाई किताबी ज्ञान दिने मात्र होइन, अतिरिक्त क्रियाकलापहरुमा पनि सक्रिय बनाउनुपर्छ भन्ने हेतुले वार्षिक क्यालेन्डर मै यस्ता कार्यक्रमहरु राखिएको हो । विद्यार्थीलाई समाज प्रति सेवाको भाव जागृत गर्ने उद्देश्यले जुनियर रेडक्रस र स्काउट कार्यक्रमहरुमा समेत सहभागी गराउने गरिएको भने विद्यालयस्तर र पालिका स्तरमा आयोजना भईरहने खेलकुद गतिविधिहरुमा पनि विद्यार्थीहरुलाई सहभागी गराउने गरिएको छ ।
२०७५ सालमा पण्डित दिनबन्धु पोखरेलाई बोलाएर पुन: संचालन गरिएको धनधान्यांचल महायज्ञबाट संकलित आथिक सहयोगबाट विद्यालयको माध्यमिक तह संचालनको लागी श्रोत जुट्यो ! २०७५ देखि कक्षा ९ र पछिल्लो वर्ष कक्षा १० संचालन गरिएको यस विद्यालयको शैक्षिक उन्नयनमा दक्ष शिक्षक, मेहनती विद्यार्थी, सचेत अभिभावक, सक्रिय व्यवस्थापन समिति र सहयोगी शिक्षक-अभिभावक संघ सबैको उत्तिकै देन छ । रत्ननगर नगरपालिकाको शिक्षा ऐनले वडाध्यक्ष नै आफ्नो वडाको सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्ने व्यवस्था गरेपछि जनप्रतिनिधिहरुमा सामुदायिक विद्यालय प्रतिको जिम्मेवारी थपिएको छ । जनप्रतिनिधि र विद्यालयलाई शिक्षा ऐनले जोडिदिएपछि विद्यालयहरुमा स्थानिय सरकारले गर्ने लगानी पनि बढेको छ । फलस्वरूप विद्यालयको भौतिक संरचनाहरुको निर्माण बाक्लिएको छ भने विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागी जनप्रतिनिधिहरु चर्को मेहनत गरिरहेका छन् ।
संस्थागत विद्यालयहरु संग प्रतिस्पर्धा गरि यस विद्यालयलाई सांचिकै नमुना विद्यालय बनाउन प्रधानाध्यापक देखि हरेक शिक्षकशिक्षिका एकजुट छन् । विद्यालयको नतिजा सुधार गरि विद्यालयलाई समुदायले विश्वास गर्ने वातावरण निर्माण गर्नको लागी प्रधानाध्यापक कुलराज ढकाल अहोरात्र मेहनत गरिरहुनुभएको छ ।
समय र परिस्थिति अनुसार यस विद्यालयलाई भूपू विद्यार्थी, स्थानियबासी, शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, उधोगीव्यवसायी, राजनीतिज्ञ, अभिभावक र विभिन्न संघसंस्थाहरुले आर्थिक, भौतिक तथा अन्य विभिन्न किसिमले सहयोग गरिरहनुभएको छ । उँहाहरु सबै प्रति यस विद्यालय र विद्यालय व्यवस्थापन समिति कृतज्ञ एवम् आभार व्यक्त गर्दछ ।
सबै पढौं, अगाडी बढौं
माधवपुर मा.वि मा भर्ना गरौ
Comments
Post a Comment