वडा नं. १५ को भिडियोको लागी स्क्रिप्ट

 



एक समय थियो… यो जमिन पुरै जंगलले ढाकिएको थियो। रत्ननगर–१५ माधवपुर—जहाँ न सडक थियो, न बस्ती। केवल हरियाली थियो, जँहा जंगली जनावर निस्फिक्री जीवन बाँचिरहेका हुन्थे !!  

फेरी कुनै समय आयो ...“पहाडबाट बसाइँ सर्नेहरू आए… जंगल फडानी गरियो, जमिन जोतियो। रित्तो थलोमा आशाका घरहरू उभिए। कहिले धान रोपियो, कहिले तोरी फुल्यो।”

“न त सजिलो थियो, न त सहज। रोग, भोक, जंगलका बाघ–भालुको डर… तर मानिसहरू डराएनन्। उनीहरूका हातहरू काममै लागिरहे।”

“फेरि एक दिन आयो—जहाँ बाटो खुल्यो। पसलहरू खुले। स्कुल र मन्दिर बने। अनि माधवपुरले बिस्तारै आफ्नो नयाँ रुप पायो। “आजको माधवपुर केवल एउटा बस्ती होइन—यो संघर्ष, आशा र भविष्यको उज्यालो हो । यो हो हामी सबैको कथा…

हाम्रो माधवपुरको कथा ।” जहाँ पहिचान छ, प्रकृतिको सौन्दर्य छ, र समृद्धिको उज्यालो आशा छ।


पूर्व–पश्चिम राजमार्गदेखि ५ किलोमिटर उत्तरमा रहेको यो वडाले आज विकास र परिवर्तनको कथा लेख्दैछ। यहाँको पूरानो परिचय—पिठुवा गाविसको वडा नं. ७/८ र ९ । जुन २०७१ सालमा रत्ननगर नगरपालिकामा समाहित भई रत्ननगरको वडानम्बर १५ का रूपमा नयाँ यात्रा सुरु गर्‍यो।  ३.०१ वर्ग किलोमिटर क्षेत्र, १५५४ घरपरिवार र ६३२५ जनसंख्या—जसले विविधतामा एकता,  जातजाति, भाषा, धर्म, कला , संस्कृति र संस्कारलाई एउटै माला जस्तै गाँसिराखेको छ।


यहाँका अधिकांश नागरिकहरूको मुटुमा बसेको छ—माटो, खेती र कृषि। तर यो माटोले केवल अन्न मात्र होइन—सपना पनि फलाइरहेको छ।

*************************


पछिल्ला केही वर्षहरूमा रत्ननगर–१५ माधवपुरले पूर्वाधार विकासमा ऐतिहासिक फड्को मारेको छ।

यहाँका धुलाम्मे बाटाहरू आज कालोपत्रे सडकमा परिणत भएका छन्। जहाँ पहिले पानी परेपछि हिँड्नै नसकिने हिलाम्य  बाटोहरू थिए, आज त्यही ठाउँमा ५८९५ मिटर नयाँ पिच सडक विस्तार गरिएको छ।


शान्ति टोल, भट्ट चोक, विन्देश्वरी टोल, माधवपुर मावि अगाडीको सडक, मिलिजुली टोल, कालेश्वर र अर्विट बोर्डिङ स्कुल अगाडीको सडक यी त केवल उदाहरण मात्र हुन् —यी सबै ठाउँहरूमा पिच सडकको जालो बिछ्याएर आवागमन सहज बनाइएको छ। मात्र पिच सडक हैन—१२१५ मिटर नाला निर्माण गरेर वर्षातको समयमा पानी जम्ने समस्या समाधान गरिएको छ।


बस्ती र खेतका गराहरु जोगाउन निर्माण गरिएको  ६६२ मिटर ड्याम र सेरवाल निर्माणले बाढी र भूक्षयको जोखिम न्यून बनाएको छ।


स्थानीय जनताको वर्षौंदेखिको सपना—माधवपुर र कालिका जोड्ने समिफेद पुल—अब साकार भएको छ। यस पुलले केवल दुई नगरलाई भौगोलिक रूपमा मात्र जोडेन, जनताको मन र सम्भावनाहरू पनि जोडेको छ ।


यहाँका कच्ची बाटाहरू  कालोपत्रे मात्र गरिएका छैनन्, खेलमैदान जाने बाटो, रामजानकी टोल लगायतका स्थानहरूमा ९३५ मिटर ढलान गरिएको छ।

१३२५ मिटर ओभरल्याप सहित सडकहरू थप मजबुत र सुन्दर बनाईएका छन्।


शहरी सौन्दर्यका लागि मोजाइक टायल्स पनि लगाउन सुरु गरिएको छ । शितल टोल लगायत विभिन्न टोलहरूमा ३८५ मिटर मोजाइक बिछ्याइएको छ, जसले गाउँलाई आधुनिकताको स्वाद दिएको छ।


अधुरो सपना बनेर बाँकी रहेको शहिद स्मृति सामुदायिक भवन— पूरा भएको छ। २५ लाख बजेट व्यवस्थापन गरेर निर्माण सम्पन्न गरिँदा त्यहाँका बासिन्दाको खुसी शब्दमा अटाउँदैन। त्यस्तै हिमाल गुरुङ समाज भवन, दीपज्योति किरियापुत्री भवन, पिठुवा गरिबी निवारण तथा सहकारी संस्थाको भवन पनि निर्माण गरी समुदायको सेवा र सहकार्यलाई नयाँ आयाम दिएको छ।


यी सम्पूर्ण विकासका कामहरू केवल संरचना निर्माण हैन—यी आशाको ईँटाहरू हुन्, जसले भविष्यका सपना सजाइरहेका छन्।

*********************


शिक्षा—यो केवल अक्षरहरू सिक्ने माध्यम हैन, भविष्य निर्माण गर्ने शक्तिशाली हतियार हो। रत्ननगर–१५, माधवपुरले यसै शिक्षालाई आफ्नो समृद्धिको मेरुदण्ड बनाएको छ। यहाँका विद्यालयहरू केवल भवन होइनन्, आशा र सम्भावनाका आधारशिला हुन्।


यस वडामा रहेका तीन सामुदायिक विद्यालयहरूले सयौँ बालबालिकाको भविष्य उज्यालो बनाउँदै आएका छन्।

माधवपुर माध्यमिक विद्यालयमा ४६९ जना विद्यार्थीहरू अध्ययनरत छन्—जहाँ केवल किताब र कलम हैन, सपनाहरू लेखिन्छन्।


नमुना टोलको आधारभूत विद्यालय र विदेश्वरी आधारभूत विद्यालयमा क्रमशः १७० र १५० जना बालबालिका शिक्षाको उज्यालोमा अघि बढिरहेका छन्।


शिक्षामा विविधताको स्वाद पनि छ। यहाँ एउटा संस्थागत विद्यालय पनि छ —अर्विट बोर्डिङ स्कुल !! जसमा ७८२ विद्यार्थी अध्ययन गरिरहेका छन्, जसले गुणस्तरीय शिक्षा र आधुनिक पद्धतिमा जोड दिएको छ।


शिक्षाको पहुँच मात्र हैन, गुणस्तरमा पनि माधवपुरले विशेष ध्यान दिएको छ। सामुदायिक विद्यालयहरूमा अतिरिक्त कक्षा सञ्चालन, भौतिक पूर्वाधार सुधार, शैक्षिक सामग्री वितरण र नियमित अनुगमन जस्ता क्रियाकलापहरू मार्फत विद्यालयहरूलाई बलियो बनाइएको छ।


शिक्षा र रोजगारीलाई जोड्ने प्रयास अन्तर्गत, रत्ननगर मै पहिलो पटक यस वडामा लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको छ—जसले युवाहरूलाई सरकारी सेवामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने बाटो खोलेको छ। शिक्षामा गरिएको यो लगानी—माधवपुरको उज्यालो भविष्यको जग हो।

******************************

माटोको गन्ध यहाँका मानिसहरूको जीवनशैली हो। रत्ननगर–१५, माधवपुरको समृद्धिको मुटु नै कृषि र पशुपालन हो।


यहाँका किसानहरू अब परम्परागत खेतीमा मात्र सीमित छैनन्। ७ वटा बोरिङ निर्माण गरेर वर्षैभरि सिँचाइको सुविधा उपलब्ध गराइएको छ। बोरिंग निर्माण गरिएपछी समयमा खेति लगाउन पाएका किसानको खुसिको कुनै सिमा छैन !! ( किसानको कुरा राख्ने )


त्यस्तै ११७२ मिटर कुलो लाइनिङले खेतहरूमा समयमै पानी पुर्‍याउने काममा अझ धेरै सहयोग गरेको छ।  कृषक र पशुपालकहरूलाई अनुदान र तालिममार्फत उनीहरूको आयआर्जनमा नयाँ सम्भावना थपिएको छ।

 

कृषि अब केवल जीवन निर्वाहको माध्यम होइन—यो माधवपुरको आत्मनिर्भरता र समृद्धिको आधार हो।

***********************


माधवपुर केवल विकासले मात्र अगाडि बढेको छैन— धर्म, संस्कृति र परम्परामा पनि माधवपुर उत्तिकै अब्बल छ ।


सांस्कृतिक सम्पदा जोगाउन यहाँ विभिन्न कामहरु भईरहेको छ !! पुरानो सांस्कृतिक स्थल समिफेद संरक्षणका कामहरू सुरु गरिएका छन्।  मठ–मन्दिर र गुम्बाहरूको संरक्षण तथा सुधार गर्दै धार्मिक पर्यावरणलाई पनि ध्यान दिइएको छ।


भजन समुह र आमा समुहहरूलाई पोशाक र बाध्यवादन सामग्री वितरण गरिएको छ, जसले स्थानीय संस्कृतिलाई अझै मजबुत बनाएको छ। महिला समुहहरूमार्फत विभिन्न तालीमहरू सञ्चालन गरी उनीहरूलाई सक्रिय र आत्मनिर्भर बनाउने काम पनि अघि बढाइएको छ। धर्म, संस्कृति र समुदायबीचको सहकार्यले माधवपुरलाई जीवन्त बनाइरहेको छ।

**********************



माधवपुरले खेलकुदलाई युवा पुस्ताको उर्जा र भविष्यसँग जोडेको छ। माधवपुर खेलकुद विकास समिति गठन गरेर युवाहरूलाई खेलकुदमा सक्रिय बनाइएको छ।  खेलमैदान निर्माणसँगै पहिलोपटक ऐतिहासिक माधवपुर गोल्डकप फुटबल प्रतियोगिता सफलतापूर्वक आयोजना गरियो!! गोल्डकपको दोस्रो संस्करण केहि समय अघि मात्र  भव्य रूपमा सम्पन्न भयो। जँहा उर्लिएको दर्शकको भिड हेर्दा लाग्थ्यो साँच्चिकै माधवपुर राष्ट्रिय स्तरको खेल बन्दै छ !! 

माधवापुरमा खेलले मनोरञ्जन मात्र हैन—सम्बन्ध र सम्भावना पनि निर्माण गरिरहेको छ।

********************


यस वडामा स्वास्थ्य सेवामा पनि विशेष ध्यान दिइएको छ। गर्भवती र सुत्केरी महिलाहरूका लागि पोषण कार्यक्रम, निशुल्क भिडियो एक्सरे र ECG सेवा उपलब्ध छन्। बालबालिकाको नियमित खोप र उपचार कार्यक्रमले  स्वस्थ बाल्यकाल सुनिश्चित गरेको छ।


स्वास्थ्य केन्द्र मार्फत नियमित उपचार सेवा दिइएको छ भने ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण शिविर र धार्मिक भ्रमणले उनीहरूको जीवनलाई अझै सहज बनाउने कोशिस गरिएको  छ। फरक क्षमता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण  र सामाजिक सहभागितामा जोड दिइएको छ। 

*****************************************

यस वडामा जडान गरिएका सिसी क्यामेराहरूले शान्ति सुरक्षामा नयाँ भरोसा थपेका छन्।” अब चोरी, ठगी, झैझगडा जस्ता अपराधहरू नियन्त्रण गर्न सहज भएको छ । अपराध गर्नेहरू सचेत छन्—क्यामेराको आँखाले सबै देखिरहेको छ।” सिसी क्यामेराको निगरानीले सुरक्षाकर्मीहरूलाई सहज भएको छ। आपतकालीन घटना समाधानमा पनि मद्दत मिलेको छ।” “सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो। सिसी क्यामेराले सुरक्षित वडा बनाउने हाम्रो अभियानलाई बलियो बनाएको छ।” 


माधवपुर—केवल एउटा वडाको नाम होइन।

यो सपना हो—जहाँ शिक्षाले सम्भावना जगाउँछ, पूर्वाधारले गतिशीलता ल्याउँछ, र कर्मले सपना साकार बनाउँछ! संस्कृति र परम्पराले समुदायलाई जोड्दै जान्छ ।


यहाँ परिवर्तन छ। यहाँ समृद्धि छ।

यहाँ छ—नयाँ पुस्ताको उज्ज्वल भविष्य।

Comments

Popular posts from this blog

माधवपुर स्कुल स्क्रिप्ट फाईनल

भद्रकाली स्कुल स्क्रिप्ट फाईनल